वीरगञ्ज । पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–१७ अलौबाट सशस्त्र प्रहरीले ९ किलो ५ सय ग्राम अवैध चरेशसहित एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा भारत घर बताउने २० वर्षीय सन्दीप चौधरी रहेका छन् । उनलाई सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म अलौबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा भाद्र ३० गते नियन्त्रणमा लिएको हो ।
सशस्त्र प्रहरीका अनुसार चौधरीले चढेको मोटरसाइकलको तेल ट्याङ्कीभित्र 'फल्स बटम' (अलग्गै खण्ड) बनाएर लुकाई-छिपाई लैजाँदै गरेको अवस्थामा चरेश बरामद गरिएको हो । ट्याङ्कीभित्र प्लाष्टिकले बेरिएका २१ वटा पोकामा उक्त परिमाणको चरेश भेटिएको थियो ।
नियन्त्रणमा लिइएका चौधरीलाई बरामद गरिएको चरेश र सवारी साधनसहित आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकाय (नेपाल प्रहरी) मा बुझाइएको सशस्त्र प्रहरी निरीक्षक दिलकुमार श्रेष्ठले जानकारी दिए ।